कान्छो खवर । मंगलबार, माघ ०१, २०८१

गाईघाट १ माघ ।
सुन चोरी गर्ने र चोरीको सुन खरिद गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।उदयपुरको चौदण्ढीगढी नगरपालिका ४ अमलचौरी बस्ने अनिता मगरको घरबाट पौष २५ गते राती सुन चोरी गर्ने बेलका नगरपालिका ९ का बर्ष २८ का अनिल लामिछाने बिश्वकर्मा र उनले बिक्रि गरेको सुन खरिद गर्ने दुई जना ब्यबसायीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सुन चोरी गरेकै दिन बिश्वकर्माले सप्तरीको फत्तेपुर स्थित एमके ज्वेलर्समा पनि सुन चोरी गर्न पुगेको सिसिटिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ, तर उनले सुन चोरी गरे नगरेको बारे प्रहरीले केहि खुलाएको छैन ।घटना लगत्तै ईलाका प्रहरी कार्यालय बेलटारबाट प्रहरी निरीक्षक बबिन राई आफै खटेर बिश्वकर्मालाई पौष २७ गते बिराटनगर स्थित गुद्री बजारबाट पक्राउ गरेका थिए ।
बिश्वकर्माले अनिताको घरबाट ७ तोला सुनको गहना र चादीका गहना र नगद ५ हजार चोरी गरि भागेका थिए । घरमा कोहि नभएको मौका पारी दराज फोडेर उनले चोरी गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपि हरिहर नाथ योगीले बताए ।
प्रहरीले चोरीको सुन किन्ने ब्यबसायीको नाम खुलाएको छैन ।पक्राउ परेका तीनै जनालाई सोमबार जिल्ला अदालत उदयपुरबाट ६ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको एसपि योगीले बताए ।