कान्छो खवर । आइतबार, आषाढ २२, २०८२

गाईघाट २१ असार ।
रौतामाई गाउपालिकाले चुनढुङ्गा खानी क्षेत्र रहेकोे जग्गाबाट ढुङ्गा गिट्टी उत्खननको गैरकानुनी रूपमा अनुमति दिएको खुल्न आएको छ ।
गाउपालिकाले भरत थापाको रौतामाई ७ धौलाखोप स्थित कित्ता नम्बर १५० र १६५ बाट थापाकि श्रीमती सन्चालक रहेकोे त्रियुगा एन्ड थापा निर्माण सेवा रौतामाईलाई ढुङ्गा गिटी उत्खनन तथा बिक्रीवितरणकोलागि अनुमति दिएको हो ।उक्त जग्गा खानी क्षेत्र परेकोले खानी तथा भुगर्भ बिभागले २०७२ कार्तिक ११ गते केजे माइन्स एण्ड मिनरल्स प्रालिको नाममा चुनढुङ्गा खोजतलास अनुमति दिएको थियोे ।
खानी तथा खनिज पदार्थ ऎन २०४२ को दफा ३ मा नेपाल भित्र निजी वा सरकारी स्वामित्वमा रहेकोे जुनसुकै जमीनको सतह वा भुगर्भ भित्र रहेकोे वा पाइएको सम्पुर्ण खनिज पदार्थ नेपाल सरकारको सम्पत्ति हुने ब्यबस्था छ ।तर गाउपालिकाले उक्त खानी ऎन बिपरित ब्यक्ति विशेषको कम्पनीलाई गैर कानुनी रूपमा उत्खनन अनुमति दिएको हो।
गाउपालिकाको २०८१ पौष ९ गतेको गाउपालिकाको बैठकबाट उक्त निर्माण सेवालाई निर्माण सामाग्री उत्खनन संकलन तथा बिक्रीवितरण कार्यको आईई प्रतिबेदनमा उल्लेख भएको शर्तको अधीनमा तथा कार्यालय संग समन्वय गरि कुल परिणाम १० हजार ६ सय ८३ घन मिटर मध्य ५० प्रतिशतले हुन आउने परिणाम ५ हजार ३ सय ४२ घन मिटर निकाल्न दिने निर्णय गरेको थियो ।
उक्त निर्णय गर्दा कोशी प्रदेशको आर्थिक ऎन २०८१ को अनुसूची ६ को सिन ६ अनुसार ढुङ्गा गिट्टीको लागि प्रति घन मिटर मुअक सहित ७९.७५ रुपैया मुल्य तोकिएर थियोे ।कार्यपालिका बैठकले निर्णय गरे लगत्तै निमित्त प्रमुख प्रशाकिय अधिकृत भुबन सुबेदीले कार्तिक १४ गते थापा निर्माण सेवालाई उत्खनन र बिक्रीवितरणको लिखित अनुमति दिएका थिए ।
थापा कम्पनीको निजि जग्गा भए पनि खानी तथा भुगर्भ बिभागले पहिल्यै उक्त जग्गामा चुनढुङ्गा रहेको पत्ता लगाएर अर्कै निजि कम्पनीलाई खोज अनुसन्धानको अनुमति दिएको थियोे । उक्त जग्गामा चुनढुङ्गा रहेकोे थापालाई समेत थाहा भएकोले उनले गाउपालिकाका कर्मचारीलाई प्रभावमा पारेर निजि जमिन सम्याउने र त्यस बाट निस्किएको ढुङ्गा गिट्टी बिक्रीवितरण गर्ने त्यसबापत न्युन रूपमा राजस्व बुझाएर आफ्नो काम फत्ते गर्ने निर्णय गराउन सफल भएका थिए ।
थापाले गाउपालिका राजस्व बापत ४ लाख २६ हजार बुझाएको राजस्व शाखाले जनाएको छ ।
ढुङ्गा गिट्टीको नाममा अनुमति पाएको निर्माण सेवाले तीब्र गतिमा चुन ढुङ्गा उत्खनन गरेर गाईघाट स्थित एक निर्माण कम्पनीलाई बिक्रीवितरण गर्दै आएको खुल्न आएपछि केही युवाहरुले जिल्ला प्रशासन कार्यालय , जिल्ला समन्वय समिति खानी बिभागमा उजुरी दिए पछी अहिले उत्खनन कार्य रोकिएको छ ।
खानी बिभागको लिखित आदेशमा प्रहरी प्रशासनले उक्त कार्य तत्काल रोक्न गाउपालिकालाई निर्देश दिए पछी गाउपालिकाले उत्खनन गर्न रोक लगाएको विरुद्धमा प्रोपाईटर बिन्दा थापाले रौतामाईलाई विपक्षि बनाई उच्च अदालत बिराटनगरमा उत्प्रेषण परमादेश रिट हालेकीमा उच्चले असार ९ गते खारेज गरेको थियोे ।
प्रमुख प्रशासकीय अधिकृत चित्र श्रेष्ठले नम्बरी जग्गा सम्याउन र उत्खनन बाट निस्किएको ढुङ्गा गिट्टी बिक्रीवितरणको माग आएकोले अनुमति दिएको बताए । अनुमति दिएको जग्गा चुनढुङ्गा खानी भएको थाहा नभएकोले ब्यक्तिलाई उत्खनन गर्न अनुमति दिएको उनले बताए ।
पछी चुनढुङ्गा खानी रहेकोे जानकारीमा आए पछी उत्खनन कार्यमा रोक लगाइएको उनलेे बताए ।