कान्छो खवर । बुधबार, साउन २७, २०८३
गाईघाट २७ साउन ।
खाना पकाउने एलपी ग्यास किन्न उपभोक्ताहरुले निकै सास्ती ब्यहोर्नु परेको छ । गाईघाटस्थित कोशी ग्यासको डिलरमा बुधबार दिउसो ग्यास आउने सार्वजनिक भए संगै उपभोक्ताहरु बिहान ४ बजे देखि नै पिपल चोकको पसल अगाडि खाली सिलिन्डर राखेर लाईनमा बसेका थिए ।
अन्य ग्यास कम्पनीका डिलरले कुपन प्रथा लागू गरेको कारण पालो आए पछी उपभोक्ताले आफ्नो पालोमा सहज रूपमा ग्यास पाउदै आएको भए पनि कोशी ग्यासका डिलरले कुपन प्रथा लागु नगरेकै कारण उपभोक्ताहरुले दुख पाउदै आएका छन् ।
चर्को घाममा रित्तो सिलिन्डर सहित सडक पेटीमा ग्यासकोलागि लामो समयदेखि लाइन लाग्नु पर्दा उपभोक्ताहरु निकै आक्रोशित बनेका देखिन्थे । टन्टलापुर घाम ५/ ६ घन्टा देखिको सडकमा लाईन बस्नु पर्दाको दुख कसलाई सुनाउनु एक उपभोक्ताले बताए ।
उनले ग्यासकोलागि बिहान ६ बजेदेखि लाइनमा बसेको अझै पालो नआएको बताए । पहिलै पैसा लिएको भए लाइन बस्नुपर्ने झन्झट ब्यहोर्नु नपर्ने उनको भनाइ रहेको छ । ग्यास आउने सार्वजनिक भए पछी उपभोक्ताहरुको लाइन पिपल चौकदेखि बिपि चौक सम्म लागेको छ ।
उनले ग्यास बिक्रेताले लाइन लगाएर उपभोक्तालाई दुख दिएको बताए ।बिहान ५ बजेदेखि ग्यासकोलागि लाइनमा बसेका मिना मगरले निकै दुख गरेर ग्यास पाएको बताइन् । चर्को गर्मी निरन्तर लाइन लाग्नु पर्दा निकै दुख र कष्ट पाएको बताइन् ।
दिउँसो २ बजे बिराटनगरबाट ग्यास आए पछी डिलरले अहिले पनि लाइनमा बसिरहेको उपभोक्ताहरुलाई ग्यास वितरण गरिरहेका त्रियुगा उधोग बाणिज्य संघ गाईघाटका महासचिव दिनेश श्रेष्ठले बताए ।
हामीले उपभोक्ताको मागलाई मध्यनजर गरेको पाच गाडी ग्यास माग गरेका थियौ तर एक गाडी मात्र ग्यास आएकोले वितरणमा समस्या भएको उनले बताए ।
उनले कुपन प्रथा लागू गर्दा सम्बन्धित डिलरबाट बदमासी हुने भएकोले पारदर्शी रूपमा सबैले ग्यास पाउन सकुन भनेर कुपन प्रथा लागू नगरिएको बताए ।
उनले बुधबार त्रियुगामा १ हजार ८७० सिलिन्डर ग्यास आएको बताए । माग बढी भएकोले आएको ग्यास समेत अपुग रहेको उनले बताए ।