कान्छो खवर । बिहिबार, चैत्र २६, २०८२
गाईघाट २८ चैत ।
बालमन्दिर माबीका प्रअको सरुवाको बिषयमा अभिभावकले बिहिवार त्रियुगा नगरपालिकामा मागपत्र बुझाएका छन् ।
नगरपालिकाले गैरकानुनी तरिकाले हटाएका प्रअ जङ्गबहादुर खड्काको पुनर्बहाली र बिध्यालयमा राजनैतिक हस्तक्षेप बन्द गर्नुपर्ने भन्दै दिउसो स्थानिय अभिभावकहरुले नगरपालिका घेराउ गर्दै उपप्रमुख महेश्वरी राईलाई मागपत्र बुझाएका छन् ।
अभिभावकहरुले प्रअ खड्काले बिध्यालयको भौतिक तथा शैक्षिक बाताबरण सुघार गरेर जिल्ला मै उत्कृष्ट काम गरेको तर उनलाई पुर्बाग्रही ढंगले हटाउने काम भएकोले नगरपालिकाले निर्णय सच्याउने काम गर्नुपर्ने माग गरेका छन् । उनिहरुले प्रअको सरुवा खारेजी नभए आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।
मागपत्र बुझ्दै उपमेयर राईले अभिभावकले राख्नु भएको मागको बिसयमा नगर कार्यपालिकाको बैठक बाट सम्बोधन गरिने र त्यस अघि स्थानिय संग राखेर छलफल गरिने बताइन् ।
नगरपालिकाले खड्कालाई केही महिना अघि अन्यत्र सरुवा गरेको थियोे ।उक्त सरुवा विरुद्ध खड्का अदालत गएका थिए । अदालतबाट सरुवाको बिषयमा कुनै फैसला आएको छैन ।मुद्दा अदालतमा चलिरहेको ब्यबस्थापन समितिले जनाएको छ ।
मुद्दा टुंगो नलाग्दै फेरि पनि नगरपालिकाले चैत १६ गते निर्णय गर्दै खड्कालाई प्रअको जिम्मेवारीबाट हटाइएको थियोे ।खड्का उक्त निर्णय विरुद्ध उच्च अदालत बिराटनगर गएकोमा अदालतले तत्काल प्रअको जिम्मेवारीबाट खड्कालाई नहटाउन अल्पकालीन अन्तरिक आदेश जारी गरेको छ ।