कान्छो खवर । सोमबार, आषाढ ०१, २०८३
गाईघाट १ असार ।
अस्पताललाई कर्मचारी भर्ती केन्द्र बनाए पछी जिल्ला अस्पताल उदयपुरको अबस्था डमाडोल बन्न पुगेको छ । अस्पताल बिकास समितिका पदाधिकारीहरुले जथाभावी आफ्नो मान्छे कर्मचारीको रूपमा भर्ना गरेको कारण अस्पताललाई आर्थिक झेल्नुपरेको छ ।
आर्थिक संकटको कारण अहिले अस्पतालमा औषधि अभाव भएको छ भने एक्सरे सेवा , अक्सिजन उत्पादन पुर्ण रूपमा बन्द भएको छ । चिकित्सकहरुले बिगत केहि महिना देखि प्रत्साहन भत्ता , घरभाडा , रात्रिकालिन भत्ता समेत आर्थिक अभावको कारण पाउन सकेका छैनन् ।
जिल्ला अस्पतालमा जम्मा चिकित्सक सहित ५९ जना कर्मचारीको दरबन्दी रहेकोमा अस्पताल बिकास समितिले झन्डै दोब्बर संख्यामा करार र ज्यालादारीमा कर्मचारी भर्ना गरेको छ । अस्पताल बिकास समितिबाट तलब भत्ता पाउने गरि ८ जना चिकित्सक , ज्यालादारी ४४ जना , करारमा २२ जना र ओसिएमसि २ जना गरि ७६ जना कर्मचारी कार्यरत छन् ।
अस्पतालको मासिक आम्दानी औसत रूपमा ४७ लाख ७२ हजार रहेकोमा करार र ज्यालादारी चिकित्सक र कर्मचारीको तलबभत्तामा मासिक १९ लाख ५० हजार खर्च हुने गरेको अस्पताल लेखा शाखाले जनाएको छ ।
आम्दानीको ठुलो हिस्सा औषधि खरिद , बिमा र कर्मचारी तलबभत्तामा हुने गरेकोले अस्पताललाई आर्थिक संकट परेको अस्पतालका कर्मचारीहरु बताउछन् । प्रदेशबाट आउने अनुदानको रकमले २ / ३ महीनाको लागि मात्र औषधि खरिद गर्न पुग्ने गरेको लेखा अधिकृत रोहित श्रेष्ठले बताए ।
बिकास समितिबाट उठेको रकम बिमा , औषधि , स्टेसनरी खरिद गर्दैमा सकिने गरेको उनले बताए । उनले बिगतमा भुक्तानी गर्नुपर्ने दायित्व समेत अहिले बढेको कारण अस्पतालमाले आर्थिक समस्या भोग्नु परेको उनले बताए ।
चिकित्सकहरुले सनिवार पत्रकार सम्मेलन गर्दै अस्पतालमा औषधि , ल्याबका सामान अभाब भएको , एक्सरे सेवा , अक्सिजन उत्पादन बन्द भएको र आफुहरुले पाउनुपर्ने सेवा सुबिधाहरु लामो समय देखि पाउन नसकेको उजागर गरेका छन् । उनिहरुले अस्पताल प्रशासनले अबिलम्ब अस्पताल सुधार गर्दै रोकिएको सेवा सुबिधा उपलब्ध गराउन माग समेत गरेका छन् ।
कोशी प्रदेशको उत्कृष्ट अस्पताल बन्न सफल जिल्ला अस्पताल उदयपुर केहि महिना अघि सम्म आर्थिक रूपमा मात्र नभएर सेवा सुबिधाको हिसाबले निकै अब्बल रहेकोे थियोे ।