कान्छो खवर । सोमबार, जेठ ०४, २०८३
गाईघाट ४ जेष्ठ ।
गाईघाट बजारदेखि दक्षिण त्रियुगा नदि संगै निरन्तर बग्ने गरेको हात्तीमारा नदि अतिक्रमणको चपेटामा परेको छ । भुमाफियाले नदि अतिक्रम गरि नदिको जग्गा ब्यक्ति विशेषलाई बिक्री गरे पछी बिगत डेढ दशक देखि नदिको अस्तित्व पुर्ण रूपमा मेटिएको छ ।
नापीको फिल्डबुकमा कायम भएको हात्तीमारा खोलाले चर्चेको जग्गा झन्डै ४८ बिगाहा रहेको देखिन्छ , तर धेरै जसो नदिको जग्गामा घर टहरा निर्माण भएका छन् भने उत्तर तर्फको उचाई भएको क्षेत्रमा भने केहि ब्यक्तिले खेतीपाती गर्दै आएका छन् ।
उक्त जग्गा नेपाल सरकारकै नाममा दर्ता रहेको भए पनि पछि दर्ता हुने भन्दै केहि भुमाफियाले ब्यक्ति विशेषलाई बिक्रि गरेका छन् । स्थलगत रिपोर्टिङको क्रममा नदिको जग्गामा घर बनाएर बसिरहेका केहि ब्यक्तिले स्थानिय छिवाहाङ राई , निरबहादुर सार्कीले बिक्रि गरेको बताएका छन् ।
उनिहरुले प्रति कठ्ठा २ देखि ५ लाख सम्ममा खरिद गरेको समेत बताए ।हामीलाई पछी जग्गा दर्ता हुन्छ भनेर बताए पछी जग्गा खरिद गरेको नाम उल्लेख नगरिदिने शर्तमा एक ब्यक्तिले बताए । हात्तीमारा खोलाको नाममा जग्गा रहेको कसैलाई थाहा नभएको उनले बताए ।
केहि दिन यता बस्तीमा अब सरकारले बस्ती हटाउने चर्चा चलेकोले वास्तविक कुरा थाहा पाएको उनले बताए । जग्गा खरिद गर्दा पैसा बुझेको सामान्य कागज बाहेक अरु कुनै प्रमाण आफुहरु संग नरहेको उनलेे बताए ।
हात्तीमारा नदि अतिक्रमण पछी उकास भएको जग्गामा साना झोपडी देखि तीन तल्ला सम्मको घर निर्माण गरिएको छ । उक्त जग्गामा सामान्य श्रमिक देखि ठुला ब्यापारी सम्मले घरटहरा निर्माण गरेर खोलाको जग्गा अतिक्रम गरेका छन् ।
खाल्डाखुल्डी रहेकोे पानी जम्ने ठाउ बाहेक सबै समथल भुभागमा ६८ वटा घर निर्माण भएका छन् । उनिहरुले बिगत १० , १२ बर्ष देखि घर निर्माण गरेर बसोबास गर्दै आईरहेको बताउछ्न ।
” कहिले देखि गरियो हात्तीमारा खोलाको अतिक्रमण ? ”
कुनै समय नदिको दलदलमा फसेर हात्ती मरेको हुनाले नदिको नाम हात्तीमारा रहन गएको स्थानिय बन्धु चौधरीले बताए । हात्तीमारा नामकरण हुनु अगाडि सम्म उक्त खोलाको नाम अमरबति रहेको उनले बताए । हात्ती डुबेर मरे पछि भने जनजिब्रोमा हात्तीमारा हुन गएको ७६ बर्षिय चौधरीले बताए ।
हात्तीमारा नदिको जग्गा कहिले र कसरी अतिक्रमण गरिएको भन्ने बारेमा स्थानियले भुमाफियाले पुर्ण योजना बनाएर क्रमिक रूपमा अतिक्रम गरेको बताउछन् । भुमाफियाले सुरुमा नदिको धार नै परिवर्तन गरेको बताउछन् । हात्तीमाराको मुहान रहेको ठाउ देखि झन्डै २ सय मिटर तल त्रियुगा नदि तर्फ खोलाको धार नै फर्काउने काम भएको स्थानिय रबिन्द्र चौधरीले बताए ।
खोला अर्कोतिर बग्न थाले पछी क्रमिक रूपमा नदिमा पानी सुक्दै गएर उकास भएको जग्गा त्यस पछी भुमाफियाले कब्जा गरेको उनले बताए ।मुलुकमा २०६२ / ६३ को राजनैतिक उथुल पुथुल भएको मौका छोपी नदि उकासको जग्गा बिक्रि भएको उनलेे बताए ।
त्यस बेला कानुन ब्यबसायी बैकुण्ठ नाथ दाहालको भित्री सहयोगमा भुमाफियाले जग्गा अतिक्रमण गरेको उनलेे बताए । मैले भोग चलन गरिरहेको जग्गामा समेत माओवादीको आबरणमा मलाई धम्की दिने काम भएको थियोे । उनलेे भने ।
हात्तीमारा बचाउ अभियानका अभियन्ता राहुल यादवले हात्तीमारा नदि हिजो अबस्थामा फर्काउन आफ्नो समुह लागि परिरहेको बताउछन् ।उनले हात्तीमारा नदि अतिक्रम गरि निर्माण गरिएको बस्ती अबिलम्ब खाली गरिनु पर्ने र नदिको जग्गा गैरकानुनी रूपमा बिक्रि गर्ने भुमाफिया विरुद्ध कानुनी कारबाही गरिनु पर्ने बताए ।
उनले हात्तीमारा खोजी गर्न भन्दै २०७९ मै त्रियुगा नगरपालिकाका मेयर र उपमेयरलाई ज्ञापनपत्र समेत बुझाएको तर अहिलेसम्म कुनै काम नभएको बताए ।
हात्तीमाराले चर्चेको गाईघाट २ ” ख” र ३ ” क “को जग्गा सहित झन्डै १ सय ४७ बिगाहा जग्गा श्री ५ को सरकारको नाममा बगर खोला भनेर नापी कार्यालयको फिल्ड बुकमा उल्लेख भएकोमा २०६४ मा हात्तीमारा खोलाले चर्चेको मात्र ४८ बिगाहा रहेको यादवले बताए ।
उनले विभिन्न समयमा गैरसरकारी रूपमा बिक्रि भएको हात्ती खोलाको जग्गा नेपाल सरकारले अबिलम्ब फिर्ता ल्याउनु पर्ने बताए ।

