कान्छो खवर । सोमबार, चैत्र ३०, २०८२
गाईघाट ३० चैत ।
बाटो अलपत्र पार्ने ठेकेदारलाई कारबाहीको माग राख्दै सोमबार घनचक्रेका स्थानिय बासिन्दाहरुले पुर्बाधार बिकास कार्यालय उदयपुरमा ज्ञापन पत्र बुझाएका छन् ।
त्रियुगा नगरपालिका ६ का वडा अध्यक्ष योगेन्द्र दाहालको नेतृत्वमा आएका गाउलेहरुले दिउसो कार्यालय प्रमुख डिई गङगासागर यादवलाई ज्ञापन पत्र बुझाएका हुन् ।
त्रियुगा ५ दमौटी देखि वडा नम्बर ६ घनचक्रे जोड्ने सडक अलपत्र पारेर बेपत्ता हुने निर्माण कम्पनी एससिएफ बिनस जेभी लहानलाई कारबाही र छ महिना भित्र ठेक्का तोडेर नया ठेक्का लगाउन उनिहरुले कार्यालय सग आग्रह गरेका छन् ।
बर्षायाम सुरु भैसकेको अबस्थामा उक्त सडक लामो समय देखि अलपत्र हुदा स्थानिय बासिन्दाहरुलाई आबतजाबतमा समस्या हुने भएकोले अहिले सम्बन्धित कार्यालयलाई घचघचाएको अध्यक्ष दाहालले बताए ।
निर्माण कम्पनी र कार्यालय बीच २०७५ असोज १ मा निर्माण सम्बन्धि सम्झौता भएको थियोे । २०८० भदौ ३१ गते भित्र निर्माण कार्य सम्पन्न गर्ने गरि भ्याट सहित १९ करोड ५७ लाख ८९ हजार ३५ रुपैया लागत रहेकोमा अहिलेसम्म भौतिक प्रगति ५५ प्रतिशत र आर्थिक प्रगति ४७ प्रतिशत रहेको डिई यादवले बताए ।
२० किलोमिटर सडक ग्राभेल र ड्रेन निर्माण गर्नुपर्ने उक्त सडक कोसी प्रदेश भौतिक पुर्बाधार बिकास मन्त्रालयको आर्थिक लगानी रहेको यादवले बताए । उनलेे निर्माण कम्पनीका प्रोपाइटरलाई पटकपटक लिखित र मौखिक रूपमा काम गर्न अनुरोध गरिएको तर ठेकेदारले बेवास्ता गरेको उनले बताए ।
मैले निर्माण ब्यबसायीलाई चाडो काम सक्न निकै पटक अनुरोध गरे तर अहिले ठेकेदारले फोन नै स्विच अफ गरेर बसेको छ ।उनलेे भने ।काम अलपत्र पार्ने ठेकेदारको बारेमा प्रदेश सरकारलाई समेत जानकारी गराएको उनलेे बताए ।
ठेक्का तोड्ने प्रक्रिया झन्झटिलो र पुन अर्को सूचना गरेर काम सुरु गर्दा लागत रकम निकै बढ्न जाने र निर्माण कार्य झनै ढिलो हुने भएकोले अब कसरी अघि बढ्ने भन्ने बारे आन्तरिक छलफल भैरहेको प्रमुख यादवले बताए ।