कान्छो खवर । बिहिबार, पुष २४, २०८२
गाईघाट २४ पौष ।
जंगली हात्तीको आक्रमण बाट बेलका नगरपालिका २ रामनगरमा एक महिला घाइते भएकी छिन् ।बुधबार मध्य राति जङ्गल देखि आएको २० , २२ वटाको संख्यामा रहेको हात्तीले सोही वडाको गिदेरी र शान्ति नगरमा प्रवेश गरेर स्थानियको ७ वटा घर टहरा भत्काउनुको साथै अन्न पात नष्ट गरेको हो ।
करिब १२ बजेको समयमा आएको हात्तीको बथानले घर भत्काएर आक्रमण गर्दा सुतिरहेकि ७७ बर्षीया फुलमाया तामाङ घाइते भएको मेयर अशोक कार्कीले बताए । घाइते तामाङको नगर अस्पताल रामपुरमा उपचार भैरहेको छ ।
हात्ती पीडित बस्तीको बिहिवार बिहान मेयर कार्कीले अनुगमन गरेका छन् ।उनले पीडित परिबार संग भेटघाट गरेर कोशी टप्पु बन्य जन्तु आरक्ष संग समन्वय गरेर उचित क्षेतिपुर्तिको व्यबस्था मिलाइ दिने प्रतिबद्धता जनाएका छन् । हात्तीको निकै बिगबिगी बढे संगै स्थानियलाई सचेत रहन समेत उनले आग्रह गरेका छन् ।
हात्तीले गाउँमा घर भत्काएर बेलकातरी र कोशी टप्पुको जंगल तर्फ हात्तीको समुह पसेको स्थानिय ध्रुव कोइरालाले बताए । ठुलो संख्यामा रहेको उक्त हात्ती कहाँ बाट आयो भन्ने बारे केहि जानकारी नभएको डिभिजन बन कार्यालय उदयपुरले जनाएको छ ।